भदौ २३–२४ पछि छुट्दै गएको जेन–जी विमर्श

24 December, 2025
भदौ २३–२४ पछि छुट्दै गएको जेन–जी विमर्श

Published on Poush 9, 2082 (December 24, 2025) on Ukaalo.com

आगामी फागुन २१ मा हुने निर्वाचनको विशेष महत्त्व छ। यो निर्वाचन कुनै नियमित राजनीतिक प्रक्रिया होइन, एक पुस्ताले ल्याएको परिवर्तन संस्थागत गर्ने अवसर हो। यो विशेष परिस्थिति भदौ २३ र २४ को आन्दोलनका कारण सिर्जना भएको हो, जसको आह्वान र नेतृत्व जेन–जी (सन् १९९७ देखि २०१२ बीच जन्मेका नेपालीहरू, जो अहिले १३ देखि २८ वर्ष उमेर समूहमा पर्छन्) ले गरेका थिए। भलै, कतिपय व्यक्ति त्यस उमेर समूहभन्दा बाहिरका पनि देखिन्छन्।

विश्व राजनीतिक इतिहासमै दुई दिनको सडक आन्दोलनबाट सरकार परिवर्तन गर्न सफल रहे नेपाली युवा। यस आन्दोलनमा सबै जेन–जीले समान रूपमा योगदान गरेका थिए भन्नु अनुपयुक्त हुँदैन। आन्दोलनका क्रममा भएको विध्वंसमा समेत सुझबुझपूर्ण निर्णय गर्दै देशलाई गति दिने दिशामा जेन–जी सक्रिय थिए। राजनीतिक अन्योलको अवस्थामा अनलाइन प्लेटफर्म 'डिस्कर्ड' मार्फत प्रधानमन्त्री छनोट गर्न खेलेको भूमिकाले जेन–जीको राजनीतिक परिपक्वता स्पष्ट पार्छ।

त्यस ऐतिहासिक आन्दोलनको बलमा गठन भएको सरकारको प्रमुख म्यान्डेट फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नु हो। तर नेपालको विद्यमान कानुनले तोकेको राजनीतिसँग सम्बन्धित उमेर हद अनुसार नै निर्वाचनको प्रक्रिया अगाडी बढिरहेको अवस्थामा करिब एक तिहाइ जेन–जी, अर्थात् हाल १३ देखि १७ वर्षसम्मका जेन–जीहरू राजनीतिक सहभागीताका दृष्टिबाट सीमान्तकृत हुने जोखिममा छन्।


आन्दोलनमा एकसाथ सडकमा उत्रिएका जेन–जीमध्ये १८ वर्ष माथिकाले आफ्नो अजेन्डा पूरा गर्न प्रतिनिधि छनोट गर्ने अवसर पाउँदा, सँगै गएका १३ देखि १७ वर्षसम्मका जेन–जी भने आफूले चाहेको प्रतिनिधि छनोटको अधिकारबाट बाहिर रहनेछन्।

त्यस्तै, सरकार र जेन–जीबीच यही मंसीर २४ मा भएको सम्झौता कार्यान्वयन भएको अवस्थामा २१ वर्ष माथिका युवाले निर्वाचनमा उम्मेदवार भई सरकारको नेतृत्व गर्न सक्ने अवसर प्राप्त गर्दैछन्। तर एक तिहाइ जेन–जी आफैले योगदान गरेर ल्याएको राजनीतिक परिवर्तनमा समेत नेताका रूपमा स्थापित हुने अवसरबाट टाढा हुँदैछन्।

राजनीतिक परिवर्तन ल्याउन सक्रिय योगदान गरेका जो कोहीलाई कानूनी वा अन्य कारणले राजनीतिक प्रक्रियाबाट बाहिर राखिनु राजनीतिक हो, नेपाली भाषामा सीमान्तीकरणको कारण समेत बन्न सक्छ। यही सेरोफेरोमा रहेर यस लेखमा एउटा खास परिवेशमा बदलिएको राजनीतिक कोर्समा सबै जेन–जी समेट्न किन आवश्यक छ भन्ने विषयको विमर्शमा केन्द्रित छ।

सबै जेन–जी आन्दोलनको नेतृत्वकर्ता
भदौ २३ र २४ पछिको परिस्थितिमा अगाडि आएका जेन–जी अगुवाहरूको भनाइ अनुसार, सडकमा आउँदा सम्मको अवस्थामा जेन–जी आन्दोलन नेतृत्वविहीन थियो। यसको तात्पर्य, सडकमा देखिएका र आन्दोलनलाई समर्थन गरेका सम्पूर्ण जेन–जी कुनै न कुनै रूपमा आन्दोलनका नेतृत्वकर्ता थिए।


जेन–जीकै आन्दोलन भएको र कुनै खास व्यक्ति नेतृत्वकर्ता भनी नतोकिएको अवस्थामा १९९७ देखि २०१२ बीच जन्मेका नेपाली (हाल १३ देखि २८ वर्षसम्मका) सबैले भदौ २३ र २४ को आन्दोलनको नेतृत्व गरेका थिए भन्न सकिन्छ।

त्यसैले भ्रष्टाचार नियन्त्रणलगायत अजेन्डाहरू लिएर सकारात्मक परिवर्तनका लागि सडकमा उत्रेका जेन–जी, आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्न पनि सक्षम छन् भन्ने मान्न सकिन्छ। क्षमतावान् एक तिहाइ जेन–जी, खासगरी उमेर हदको कारण राजनीतिक अधिकारबाट वञ्चित हुँदा उनीहरूले चाहेको परिवर्तन ल्याउन सक्ने प्रतिनिधिहरू आगामी सरकारमा नआउने सम्भावना रहन्छ।

निर्वाचनको १८ वर्षे उमेर हद
नेपालको संविधानको धारा ८४ (५) अनुसार, प्रतिनिधिसभा सदस्यका लागि १८ वर्ष पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार हुने व्यवस्था छ। यो भन्दा कम उमेरका व्यक्तिलाई मतदान गर्न वा प्रतिनिधि छनोट प्रक्रियामा सहभागी हुने अनुमति छैन।

यो व्यवस्थाले सन २००८ देखि २०१२ भित्र जन्मेका जेन–जी, जो अहिले १३ देखि १७ वर्ष उमेर समूहमा छन्, आफैले ल्याएको परिवर्तनलाई निर्वाचनमार्फत संस्थागत गर्ने अवसरबाट वञ्चित हुने निश्चित छ। यो उमेर हदको पाटोले सबै जेन–जीको भावना समेट्न सक्छ वा सक्दैन, यो बुझ्न सामान्य विश्लेषण गरौँ। 

जेन–जीले आन्दोलन गरे किनभने उनीहरूको भावना अन्य पुस्ताले बुझेन, अर्थात् अहिलेका १३ देखि २८ वर्षसम्मका पुस्ताको भावना यस अघिको निर्वाचनमा १८ वर्षभन्दा माथिका व्यक्तिहरूको मतदानबाट आएका प्रतिनिधिले बुझ्न सकेनन्। जसको परिणामको आक्रोश भदौ २३ र २४ मा जेन–जीको नेतृत्वमा सडकमा देखियो।

अब १३ देखि १७ वर्षसम्मका जेन–जीको भावना फेरि पनि १८ वर्षभन्दा माथिका व्यक्तिले गर्ने मतदानबाट चुनिएर आउने प्रतिनिधिले बुझ्छन् भनेर कसरी विश्वस्त हुने? यस पुस्ताका १३ वर्ष पुगेका युवा सडकमा आएर भ्रष्टाचारको विरोध गर्न सक्छन् र सत्ता परिवर्तन गर्ने अभियानका सारथि बन्न सक्छन् भने, अहिलेको विशेष परिस्थितिमा उनीहरूले विवेकपूर्वक राजनीतिक सक्रियता पनि देखाउन सक्छन्। र, यो अवसर उनीहरूले पाउनुपर्ने देखिन्छ।

नेपालमा उमेर हद-तत्कालीन आवश्यकतासँग सापेक्ष
निर्वाचन आयोगले २०७३ मा प्रकाशित गरेको नेपालको निर्वाचन इतिहास पुस्तकमा उल्लेख गरे अनुसार, नेपालको पहिलो स्थानीय निर्वाचन, २००४ सालको काठमाडौँ म्युनिसिपालिटीको निर्वाचनमा २१ वर्ष पूरा गरेका पुरुषहरूले मात्र मतदान गर्न पाएका थिए।

नेपालको अन्तरिम शासन विधान २००७ को धारा ७१ मा वयस्क मतदाताका रूपमा २१ वर्ष उमेर पुगेका नागरिकलाई मतदाताका रूपमा नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएपछि भएको २०१० सालमा काठमाडौँ म्युनिसिपालिटीकै अर्को निर्वाचनमा २१ वर्ष पूरा भएका महिलाले समेत मतदान गरेका थिए।

यही उमेर हद २०४७ सालको संविधान जारी हुँदासम्म कायम रह्यो। २०४७ सालको नेपालको संविधान र त्यसपछिका निर्वाचन कानुनहरूमा १८ वर्ष उमेर पुगेका नागरिकलाई मतदानको अधिकार दिने व्यवस्था गरिँदै आएको छ।

यसरी हेर्दा निर्वाचनमा मतदान गर्ने उमेर कुनै वैदिक वा अपरिवर्तनशील विषय नभई, समयानुकूल परिवर्तन हुँदै जाने कुरा स्पष्ट हुन्छ। बालिग मताधिकारको सन्दर्भमा २०४७ सालअघि २१ वर्ष पूरा भएको व्यक्ति वयस्क वा बालिग हो भनिएकोमा त्यसपछि बालिग हुने उमेर हद १८ वर्षमा घटाइयो। २०४७ सालको सन्दर्भमा यो उपयुक्त थियो होला।

सहभागी-लोकतन्त्रको सिद्धान्तले राजनीतिक क्षमता सहभागितामार्फत विकास हुन्छ, त्यस अगावै प्रमाणित हुनुपर्ने सर्त होइन भन्छ। भदौ २३ र २४ को आन्दोलनमा निर्णायक भूमिका खेलेका सबै जेन–जीले यही सहभागितामार्फत आफ्नो राजनीतिक क्षमता देखाइसकेका छन्। त्यसैले अहिलेको परिवेशमा नेपालमा जेन–जी पुस्ता सबै बालिग हुन् भन्न अनुपयुक्त नहोला।

नेपालका जेन–जीले बनाएको फरक पहिचान
उनीहरूको सामाजिक चेतना, सूचना पहुँच र नवप्रविधिको प्रयोग क्षमता हो जेन–जीको विशेषता। सामाजिक सञ्जाल र इन्टरनेटजस्ता डिजिटल युगका व्यक्तिका रूपमा उनीहरूको पहिचान बनेको छ।

तर नेपालको सन्दर्भमा, भ्रष्टाचारको विरोधमा सडक आन्दोलनमा होमिएका जेन–जीले यो साबित गरेका छन् कि अब उनीहरू केवल प्रविधि र सामाजिक सञ्जालमा सक्रिय पात्रका रूपमा मात्र होइन, नेपालको राजनीति र शासन प्रक्रियामा समेत आफ्नो अस्तित्व स्थापित गर्ने चरणमा छन्। अब यो पुस्ता डिजिटल युगमा जन्मेका पहिलो पुस्ताका रूपमा मात्र नभई राजनीतिक चेतना भएको, देशको चिन्ता गर्ने र देश निर्माणका लागि जस्तोसुकै बलिदान गर्न सक्ने पुस्ताका रूपमा समेत चिनिएको छ।

यस विषयले दुई कुरा प्रमाणित गर्छ: पहिलो, उनीहरू केवल व्यक्तिगत हितमा होइन, समाज र राष्ट्रिय हितमा पनि विचारशील र क्रियाशील हुन रुचाउँछन्। दोस्रो, सबै १३ देखि २८ वर्षसम्मका जेन–जी नेपाली राजनीतिका सक्रिय हिस्सा हुन सक्छन् र सरकारका प्रतिनिधि छनोटमा परिपक्व निर्णय लिन सक्ने क्षमता राख्छन्।

यसरी नेपालमा फरक पहिचान बनाएका जेन–जीको हालसम्मकै सबैभन्दा छोटो तर प्रभावशाली राजनीतिक आन्दोलनको योगदानलाई लोकतान्त्रिक प्रक्रियामा संस्थागत गर्नुपर्ने हुन्छ। तर तिनैमध्ये एक तिहाइ जेन–जी मतदान-अधिकारबाट वञ्चित हुनुलाई उनीहरूको आह्वानमा भएको आन्दोलनको राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने प्रक्रियाबाट वञ्चित भएको भन्न सकिन्छ।

सानै उमेरमा प्रभावशाली क्षमता प्रदर्शन गरेका केही उदाहरण
अहिले नेपाललगायत विश्वभरका किशोर–किशोरीले देखाएका धेरै उदाहरणले प्रमाणित गर्छन् कि परिपक्वता र नेतृत्व क्षमताको मापन उमेरका अंकले मात्र गर्न मिल्दैन। यहाँ केही यस्ता व्यक्तिहरूको चर्चा गरिएको छ।

भारतकी लिसिप्रिया काङ्गुजाम विश्वकै सबैभन्दा कान्छी वातावरणीय कार्यकर्तामध्ये एक हुन्। सात वर्षको उमेरदेखि नै उनी भारत र अन्तर्राष्ट्रिय स्तरमा जलवायु कार्य र विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धित नीतिहरूका बारेमा वकालत गर्दै आएकी छिन्। भारतकै अर्की अभियानकर्ता ऋधिमा पाण्डेले नौ वर्षमै जलवायु न्यायका लागि मुद्दा दायर गरेर संसारलाई आफ्नो परिपक्वता देखाएकी छिन्।

स्विडेनकी ग्रेटा थनबर्गले १५ वर्षको उमेरमा जलवायु आन्दोलन सुरु गरेर संसारभर प्रभावशाली र सुझबुझपूर्ण अभियानको नेतृत्व गरिरहेकी छिन्। पाकिस्तानकी मलाला युसुफजाईले ११ वर्षमै बालिकाको शिक्षा अभियान सुरु गरेकी थिइन्। उनी १७ वर्षमै नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल भएकी थिइन्। त्यस्तै, यमनकी नुजुद अली १० वर्षको उमेरमा भएको विवाहको केही महिनामै डिभोर्स मागेर त्यस समाजमा सम्भवतः पहिलो विद्रोह गरेकी थिइन्। नेपालमा पनि धेरै किशोर–किशोरीले असाधारण परिपक्व नेतृत्व क्षमता देखाएका छन्।

कक्षा सातमा अध्ययनरत १३ वर्षीय केपी खनालले 'बाल बहस' नामक कार्यक्रम सुरु गरेर नेपालमा सामाजिक अभियानको नेतृत्व गर्न सुरु गरेका थिए। प्रतिभा पराजुली (देवी प्रतिभा जी) र अनुराधा पाण्डेले सानै उमेरमा भागवत कथाबाचनमार्फत स्रोताको मन जिते। चर्चामा नआएका यस्ता कैयौँ उदाहरणहरू हाम्रै वरपर पनि देख्न सकिन्छ।

यी सबै उदाहरणले देखाउँछन्, उमेर हदको सीमाले मात्र व्यक्ति परिपक्व हुने वा नहुने निर्धारण गर्न सक्दैन। त्यसमा पनि अहिले राजनीतिक परिवर्तन ल्याउन सक्ने पुस्ताको रूपमा जेन–जीले आफ्नो पहिचान बनाएका छन्। यो राजनीतिक परिवर्तन ल्याउन सक्नेमा अहिलेका १३ देखि १८ वर्षका व्यक्ति पनि छन्।

विषम परिस्थितिमा तत्कालीन आवश्यकता महत्त्वपूर्ण हुन्छ
विश्व इतिहासले देखाउँछ कि विषम परिस्थितिमा तत्कालीन आवश्यकता उमेरको मापदण्डभन्दा माथि हुन्छ, जुन कुरा प्राचीन कालदेखि आधुनिक समय सम्मका धेरै उदाहरणले प्रमाणित गर्छन्। कल्पना नै नगरिएका कम उमेरका व्यक्तिलाई पनि विषम परिस्थितिमा देश चलाउने स्थान (सत्ता) मा राखिएका घटनाहरू छन्।

उदाहरणका लागि, इजिप्टका फेरो तुतान्खामुनलाई इसापूर्व १३३२ मा करिब ९ वर्षको उमेरमा राजा बनाइएको थियो। चीनका पुयीलाई सन् १९०८ मा २ वर्षकै उमेरमा सम्राट् बनाइएको थियो भने इङ्ल्यान्डका हेनरी छैटौँलाई सन् १४२२ मा १ वर्षकै उमेरमा राजा बनाइएको थियो। नेपालमा पनि पूर्वराजा ज्ञानेन्द्र शाहलाई सन् १९५० मा ३ वर्षकै उमेरमा पहिलो पटक राजा घोषित गरिएको थियो।

यसरी बनाइएका वा घोषणा गरिएका राजा वा शासकले आफ्नो विवेकले शासन गरे भन्ने यस लेखको आशय होइन। तर विषम परिस्थितिको मूल्याङ्कन गरी निर्णय लिन उमेरलाई बाधक मान्नुहुँदैन भन्ने हो।

भदौ २३ र २४ को आन्दोलनपश्चात् डिजिटल माध्यमबाट प्रधानमन्त्री छनोट गर्ने प्रक्रियाको अवधारणा र प्राविधिक व्यवस्थापनदेखि अनलाइन मत हाल्ने कार्यसम्म जेन–जी पुस्ताले नै सम्भव बनाएका थिए। अनलाइन मतदानमा उमेरको सीमा तोकिएको थिएन। त्यसैले १३ देखि १७ वर्षका जेन–जीहरूले समेत मत दिएका थिए भन्न सकिन्छ।

डिजिटल माध्यमबाट प्रधानमन्त्री छनोट गर्ने भन्ने कल्पना गरिएको विषय थिएन। यो त तत्कालीन परिस्थितिको आवश्यकता थियो। जब १३ देखि १७ वर्षका जेन–जीहरू पनि कार्यकारी प्रधानमन्त्री छान्नका लागि आफ्नो सुझबुझपूर्ण विचार राख्न सक्षम भएका थिए भने के उनीहरू बदलिएको राजनीतिक कोर्समा योगदान गर्न सक्षम र योग्य छैनन् र?

अन्य देशलाई सिकाउने अवसर
अहिले अस्ट्रिया, ब्राजिल, क्युबा, अर्जेन्टिना, निकारागुवा र इक्वेडोरलगायत देशले १६ वर्षसम्मका युवालाई मतदान गर्न दिएर राजनीतिक अधिकार दिएका छन्। अब यहाँ तर्क आउन सक्छ, जब धेरै थोरै विकसित देशले समेत १६ वर्षका नागरिकका लागि मात्र मतदानको अधिकार दिएका छन् भने हामी किन त्यसभन्दा तल जाने? तर नेपालको वर्तमान परिस्थिति फरक छ, जुन विश्वका कुनै पनि मुलुकसँग तुलना गर्न सकिँदैन।

नेपालमा अहिलेजस्तो सकारात्मक परिवर्तनको अपेक्षा गरिएको छ, त्यसका पछाडि जेन–जी पुस्ताको सक्रियता छ। त्यसैले, यो परिवेशमा अहिलेका जेन–जी अर्थात् हाल १३ वर्ष पूरा गरेका व्यक्तिहरूले प्राप्त गर्ने राजनीतिक अधिकारले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सुदृढीकरणतर्फ अघि बढाउनेछ र विश्व इतिहासमा नयाँ पहिचान बनाउनेछ। विश्वका धेरै देशले यसबाट सिक्ने अवसर समेत पाउनेछन् भन्दा अनुपयुक्त नहोला।

निष्कर्ष
हाल १८ वर्ष मुनिका जेन–जी, जसले भदौ २३ र २४ को आन्दोलनमा समान रूपमा भाग लिएर देशको राजनीतिक दिशा परिवर्तनमा योगदान पुर्‍याएका छन्, उनीहरूको राजनीतिक संलग्नताका सम्बन्धमा गहन विचार विमर्श हुन जरुरी छ।

जेन–जीमध्ये अहिले १३ देखि १७ वर्षसम्मका टिनेजर/युवा राजनीतिक सीमान्तकृत हुने जोखिममा छन् भन्न सकिने परिस्थिति बन्दै गएको छ। यी जेन–जीले आगामी निर्वाचनपश्चात् पनि परिवर्तन महसुस गर्न सकेनन् भने 'जुनियर जेन–जी' का नाममा फेरि जनआक्रोशको दोस्रो लहर सडकमा आउन सक्नेतर्फ समेत सजग रहन जरुरी छ।

(लेखक शिक्षा, समाज र लैंगिक अधिकार विषयका कार्यक्रममा अनुसन्धानकर्ताका रूपमा गैरसरकारी क्षेत्रमा कार्यरत छन्। उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)

 https://www.ukaalo.com/news/31334/

0 Comments

Share a Comment

Comments are disabled for this article.